लेख विवरण

वाई-वाई यू-१९ छनोट: सुमार्ग र जमालको उत्कृष्ट ब्याटिङ, मकवानपुर यलोद्वारा मकवानपुर अरेन्ज १०७ रनले पराजित

वाई-वाई यू-१९ छनोट: सुमार्ग र जमालको उत्कृष्ट ब्याटिङ, मकवानपुर यलोद्वारा मकवानपुर अरेन्ज १०७ रनले पराजित

हेटौँडा, हेटौँडाको हुप्रा क्रिकेट मैदानमा जारी वाई-वाई पुरुष यू-१९ जिल्ला छनोट क्रिकेट प्रतियोगिता (मकवानपुर) अन्तर्गत आज सम्पन्न लिग चरणको खेलमा मकवानपुर यलो यू-१९ ले सानदार जित दर्ता गरेको छ। सुमार्ग भण्डारीको अलराउन्ड प्रदर्शन र जमाल रैनको आक्रामक ब्याटिङको मद्दतले मकवानपुर यलोले मकवानपुर अरेन्ज यू-१९ लाई १०७ रनको विशाल अन्तरले पराजित गरेको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मकवानपुर यलोले निर्धारित २५ ओभरमा ८ विकेट गुमाउँदै २२२ रनको बलियो योगफल खडा गर्‍यो। मकवानपुर यलोका लागि मध्यक्रमका ब्याटर सुमार्ग भण्डारीले ४१ बलमा १ चौकाको मद्दतले ५१ रनको अर्धशतकीय पारी खेले। त्यस्तै, जमाल रैनले मात्र २५ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ४५ रनको विष्फोटक इनिङ खेले भने प्रिन्स राज साहले ३८ रनको योगदान दिए।

मकवानपुर अरेन्जका बलर निशान्त गहतराजले ५ ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए भने आकाश कुमार यादवले २ विकेट तथा अभिषेक पन्त, राहुल शाह र अश्मिर दाहालको भागमा समान १-१ विकेट रह्यो।

२२३ रनको विशाल लक्ष्य पछ्याएको मकवानपुर अरेन्ज १६.४ ओभरमा मात्र ११५ रन जोड्दा अलआउट हुन पुग्यो। अरेन्जका लागि अनिकेत कुमार साहले ५९ बलमा १२ चौकाको मद्दतले सर्वाधिक ७० रनको उत्कृष्ट अर्धशतकीय पारी खेले पनि अन्य ब्याटर क्रिजमा टिक्न सकेनन्। अनिकेत बाहेक टोलीका अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन्।

मकवानपुर अरेन्जलाई सस्तैमा समेट्न मकवानपुर यलोका बलर सफल दाहालले १.४ ओभरमा मात्र ४ रन खर्चेर ३ विकेट लिए। त्यस्तै, उत्कृष्ट बलिङ गरेका सुमार्ग भण्डारीले ४ ओभरमा ३० रन खर्चेर २ विकेट चट्काए भने किशन गुप्ता र दिवस ढुंगानाले समान १-१ विकेट लिए।

ब्याटिङतर्फ ५१ रनको अर्धशतकीय पारी खेल्नुका साथै बलिङमा २ विकेट समेत लिएका मकवानपुर यलोका सुमार्ग भण्डारी खेलको 'प्लेयर अफ दि म्याच' घोषित भए।

संक्षिप्त स्कोरकार्ड:

  • मकवानपुर यलो यू-१९: २२२/८ (२५ ओभर)

    सुमार्ग भण्डारी: ५१ रन, जमाल रैन: ४५ रन, निशान्त गहतराज: ३ विकेट

  • मकवानपुर अरेन्ज यू-१९: ११५/१० (१६.४ ओभर)

    अनिकेत कुमार साह: ७० रन, सफल दाहाल: ३ विकेट, सुमार्ग भण्डारी: २ विकेट

  • नतिजा: मकवानपुर यलो यू-१९ १०७ रनले विजयी।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.