चन्द्रागिरि यू-१४ क्रिकेट: पुस्कर राईको विष्फोटक ब्याटिङ, चन्द्रागिरिद्वारा रेडियन्ट क्रिकेट एकेडेमी ३ विकेटले पराजित
काठमाडौं, चन्द्रागिरि यू-१४ टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न लिग चरणको निकै प्रतिष्पर्धात्मक खेलमा चन्द्रागिरि क्रिकेट एसोसिएसन यू-१४ ले रोमाञ्चक जित दर्ता गरेको छ। पुस्कर राईको उत्कृष्ट अलराउन्ड प्रदर्शनको मद्दतले चन्द्रागिरिले रेडियन्ट क्रिकेट एकेडेमी यू-१४ लाई ३ विकेटले पराजित गरेको हो।
टस जितेर पहिले ब्याटिङ रोजेको रेडियन्ट क्रिकेट एकेडेमी १८.३ ओभरमा १३१ रन जोड्दा अलआउट हुन पुग्यो। रेडियन्टका लागि प्रारम्भिक ब्याटर अनिल गुरुङले २३ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ३१ रन बनाए। त्यस्तै, सन्नी जैसवालले २० बलमा २७ रन र मुन्ना जैसवालले १० रन जोडे।
रेडियन्टलाई सस्तैमा समेट्न चन्द्रागिरिका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। चन्द्रागिरिका सुरेज दाहाल, अनिश पोखरेल, नविन बोहोरा र प्रियाणा प्रधानले समान २-२ विकेट लिए भने पुस्कर राईले १ विकेट चट्काए।
१३२ रनको विजयी लक्ष्य पछ्याएको चन्द्रागिरि क्रिकेट एसोसिएसनले १९ ओभरमा ७ विकेट गुमाउँदै उक्त लक्ष्य पुरा गर्यो। अन्तिम ओभरहरूमा पुस्कर राईले विष्फोटक ब्याटिङ गर्दै टोलीलाई जितको सङ्घारमा पुर्याएका थिए। उनले मात्र १४ बलको सामना गर्दै ३ चौका र २ छक्काको मद्दतले अविजित २९ रनको महत्त्वपूर्ण इनिङ खेले। त्यस्तै, अनिश पोखरेलले २०, प्रनय प्रधानले १८, कामेश धामीले अविजित १६ र सौरभ बोहोराले १४ रनको योगदान दिए।
बलिङतर्फ रेडियन्टका सन्नी जैसवालले ३ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए भने मुन्ना जैसवालले २ विकेट तथा रोनिश श्रेष्ठ र शौर्य विक्रम थापाको भागमा समान १-१ विकेट रह्यो।
खेलमा किफायती बलिङ गर्दै १ विकेट लिनुका साथै अन्त्यमा १४ बलमा २९ रनको म्याच विनिङ इनिङ खेलेका चन्द्रागिरिका पुस्कर राई खेलको 'प्लेयर अफ दि म्याच' घोषित भए।
प्रतियोगितामा २ जित निकाल्दै पल्सर सिईसी र चन्द्रागिरि क्रिकेट एसोसिएसन सेमिफाईनलमा प्रवेश गरेको छ।
संक्षिप्त स्कोरकार्ड:
-
रेडियन्ट क्रिकेट एकेडेमी यू-१४: १३१/१० (१८.३ ओभर)
अनिल गुरुङ: ३१ रन, सन्नी जैसवाल: २७ रन, सुरेज दाहाल: २ विकेट, अनिश पोखरेल: २ विकेट
-
चन्द्रागिरि क्रिकेट एसोसिएसन यू-१४: १३२/७ (१९ ओभर)
पुस्कर राई: २९ रन, अनिश पोखरेल: २० रन, सन्नी जैसवाल: ३ विकेट*
-
नतिजा: चन्द्रागिरि क्रिकेट एसोसिएसन यू-१४ ३ विकेटले विजयी।
टिप्पणी लेख्नुहोस्