लेख विवरण

एसियन गेम्स महिला टि-२० छनोट: पूजा महतोको उत्कृष्ट अर्धशतक, चीनलाई नेपालले दियो १२६ रनको लक्ष्य

एसियन गेम्स महिला टि-२० छनोट: पूजा महतोको उत्कृष्ट अर्धशतक, चीनलाई नेपालले दियो १२६ रनको लक्ष्य

काठमाडौँ | मलेसियाको क्लाङस्थित बायोमास क्रिकेट ओभलमा जारी एसियन गेम्स महिला टि-२० छनोट प्रतियोगिता अन्तर्गत समूह 'बी' को आफ्नो पहिलो खेलमा नेपालले चीनलाई जितका लागि १२६ रनको सम्मानजनक लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रन बनायो।

उपकप्तान पूजा महतोको सानदार ब्याटिङ

नेपालका लागि उपकप्तान पूजा महतोले संकट सम्हाल्दै सानदार इनिङ्स खेलिन्। उनले ५७ बलको सामना गर्दै ६ चौकाको मद्दतमा सर्वाधिक ६३ रनको योगदान दिइन्। ओपनर सम्झना खड्का ४ रनमा बोल्ड भएपछि क्रिजमा आएकी पूजाले नेपाली इनिङ्सलाई बलियो स्थितिमा पुर्‍याएकी हुन्। उनी दुर्भाग्यवश रनआउट हुन पुगिन्।

त्यस्तै, सोनी पाख्रिनले २४ बलमा २ चौकाको मद्दतले १८ रन जोडिन् भने रुबी पोद्दार २५ बलमा २२ रन बनाउँदै नटआउट रहिन्। बलिङ अलराउन्डर रुबिना क्षेत्री १ बलमा १ चौका प्रहार गर्दै ४ रनमा नटआउट रहिन्। कप्तान इन्दु बर्मा भने शून्य रनमै बोल्ड हुन पुगिन् भने कभिता कुँवरले ५ रन जोडिन।

चीनको कसिलो बलिङ

ब्याटिङका लागि केही कठिन मानिएको बायोमास ओभलको पिचमा चीनका बलरहरूले कसिलो बलिङ गरे। चीनका लागि मा रुइकेले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिइन्। त्यस्तै जियापिङ ली र वाङ हुइयिङले समान १-१ विकेट हात पारे। मिङयु झोउले विकेट नलिए पनि ४ ओभरमा २४ रन मात्र खर्चेर किफायती बलिङ गरिन्।

चीनले अब केही बेरमा १२६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ सुरु गर्नेछ। प्रतियोगितामा सुखद सुरुवात गर्नका लागि नेपाली बलरहरूले चीनलाई सस्तैमा समेट्नुपर्ने हुन्छ। चीनले आफ्नो पहिलो खेलमा इन्डोनेसियालाई पराजित गरिसकेकाले नेपालका लागि यो खेल निकै महत्वपूर्ण मानिएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.