लेख विवरण

एसियन गेम्स क्वालिफायर: चीनलाई १९ रनले हराउँदै नेपाली महिला टोली विजयी, पूजाको उत्कृष्ट अर्धशतक

एसियन गेम्स क्वालिफायर: चीनलाई १९ रनले हराउँदै नेपाली महिला टोली विजयी, पूजाको उत्कृष्ट अर्धशतक

काठमाडौँ — एसियन गेम्स महिला क्रिकेट क्वालिफायर अन्तर्गत समूह 'बी' को खेलमा नेपालले चीनलाई १९ रनले पराजित गर्दै सानदार जित दर्ता गरेको छ। मलेसियाको बायोमास ओभलमा भएको खेलमा नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीन निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०६ रनमा समेटियो।

पूजाको सम्हालिएको इनिङ्स र नेपालको ब्याटिङ

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२५ रन बनाएको थियो। नेपालका लागि ओपनर पूजा महतोले सम्हालिएको ब्याटिङ गर्दै उत्कृष्ट अर्धशतकीय इनिङ्स खेलिन्। उनले ५७ बलको सामना गर्दै ५ चौकाको मद्दतमा ६३ रन बनाइन्।

त्यस्तै, सम्झना खड्काले ४ रन र सोनी पाख्रिनले १८ रन जोडिन्। कविता कुँवर ५ रनमा आउट हुँदा कप्तान इन्दु बर्मा भने शून्य रनमै पभिलियन फर्किइन्। अन्त्यतिर रुबी पोदारले नटआउट २२ रन र रुबिना क्षेत्रीले ४ रन जोड्दै नेपाललाई सम्मानजनक योगफलसम्म पुर्‍याए। चीनका लागि मा रुइकेले २ तथा वाङ हुईइङ र जियापिङ लीले १–१ विकेट लिए।

रियाको घातक बलिङ

१२६ रनको लक्ष्य पछ्याएको चीनलाई नेपाली बलरहरूले कसिलो बलिङ गर्दै दबाबमा राखे। रिया शर्मा नेपालको जितमा नायक बनिन्। उनले ४ ओभरमा १ मेडन राख्दै मात्र १८ रन खर्चेर २ महत्वपूर्ण विकेट लिइन्। उनको यही उत्कृष्ट प्रदर्शनका कारण उनी 'प्लेयर अफ दि म्याच' समेत घोषित भइन्।

नेपालका लागि मनिषा उपाध्याय, कविता कुँवर र पूजा महतोले पनि १–१ विकेट बाँडे।

चीनका लागि कप्तान मिङ्यु झुआले सर्वाधिक ३० रन र वाङ हुईइङले २१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। ओपनिङ गरेकी जियापिङ लीले १५ रन र वेई हाइतिङले १८ रन जोडेका थिए। नेपाली बलरहरूको कसिलो बलिङसामु चिनियाँ ब्याटरहरूले खुलेर खेल्न सकेनन् र नेपालले १९ रनको महत्त्वपूर्ण जित आफ्नो पक्षमा पार्यो।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.