लेख विवरण

विश्वकपका लागि नेदरल्यान्ड्सको टोली घोषणा: चोटमुक्त हुँदै मेम्फिस डिपे टोलीमा फर्किए, फ्रिमपोङ बाहिरिए

विश्वकपका लागि नेदरल्यान्ड्सको टोली घोषणा: चोटमुक्त हुँदै मेम्फिस डिपे टोलीमा फर्किए, फ्रिमपोङ बाहिरिए

काठमाडौँ — आगामी महिनादेखि अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुन गइरहेको फिफा विश्वकपका लागि डच प्रशिक्षक रोनाल्ड कोम्यानले २६ सदस्यीय बलियो टोलीको घोषणा गरेका छन्। टोलीमा टोलीका प्रमुख स्ट्राइकर तथा सर्वाधिक गोलकर्ता मेम्फिस डिपेले चोटमुक्त हुँदै पुनरागमन गर्न सफल भएका छन्।

ब्राजिलियन क्लब कोरिन्थियन्सबाट व्यावसायिक फुटबल खेल्दै आएका डिपे तीघ्राको चोटका कारण केही हप्ता मैदान बाहिर थिए। नेदरल्यान्ड्सका लागि इतिहासमै सर्वाधिक ५५ गोल गरेका डिपे आइतबार मात्रै मैदान फर्किएका थिए। प्रशिक्षक कोम्यानले उनी पूर्ण रूपमा फिट छन् वा छैनन् भन्ने कुरा हेर्न बाँकी नै रहेको बताए पनि उनको अनुभवलाई हेर्दै टोलीमा समेटेका हुन्।

चोटबाट फर्किने खेलाडीहरूको वर्चस्व, टिम्बर दाजुभाइ दुवै टोलीमा

नेदरल्यान्ड्सको टोलीमा चोटमुक्त हुँदै फर्कने डिपे एक्ला खेलाडी होइनन्। डच लेजेन्ड प्याट्रिक क्लुइभर्टका छोरा जस्टिन क्लुइभर्ट पनि घुँडाको शल्यक्रियापछि ठीक हुँदै टोलीमा पर्न सफल भएका छन्। त्यस्तै, आर्सनलबाट प्रिमियर लिग जितेका डिफेन्डर जुरिएन टिम्बर पनि चोटबाट तंग्रिएर टोलीमा आएका छन्। यसपटक जुरिएनका भाइ क्विन्टेन टिम्बरले पनि टोलीमा स्थान बनाएका छन्।

फ्रिमपोङ बाहिरिँदा समरभिलको डेब्यु

प्रशिक्षक कोम्यानले वेस्टह्यामका विङ्गर क्रिसेन्सियो समरभिललाई पहिलो पटक टोलीमा मौका दिएका छन्। समरभिलको गति र रक्षात्मक खेलको तारिफ गर्दै कोम्यानले उनलाई टोलीमा राखेका हुन्।

तर, लिभरपुलका विङब्याक जेरेमी फ्रिमपोङलाई भने कोम्यानले आश्चर्यजनक रूपमा टोलीमा समावेश गरेका छैनन्। फ्रिमपोङ बारम्बार चोटको समस्याबाट ग्रसित हुने भएकाले उनलाई टोली बाहिर राखिएको कोम्यानको भनाइ छ। यसअघि नै खुट्टाको चोटका कारण मिडफिल्डर जाभी सिमोन्स विश्वकपबाट बाहिरिसकेका छन्।

समूह 'एफ' मा नेदरल्यान्ड्स

तीन पटक विश्वकपको फाइनल पुगेर पनि उपाधि जित्न नसकेको नेदरल्यान्ड्स यसपटक इतिहास बदल्ने दाउमा छ। सन् १९९४ मा अमेरिकाले विश्वकप आयोजना गर्दा कोम्यान आफैँ डच टोलीको कप्तान थिए, जहाँ नेदरल्यान्ड्स क्वार्टरफाइनलमा ब्राजिलसँग ३-२ ले पराजित भएको थियो।

यसपटक नेदरल्यान्ड्स समूह 'एफ' मा रहेको छ। उसले ड्यालसमा जापानविरुद्ध खेल्दै आफ्नो विश्वकप यात्राको सुरुवात गर्नेछ। यस समूहमा स्वीडेन र ट्युनिसिया पनि रहेका छन्।

यस्तो छ २६ सदस्यीय डच टोली:

  • गोलकिपर: मार्क फ्लेकेन, रोबिन रोफ्स, बार्ट भेर्ब्रूगेन।

  • डिफेन्डर: नाथन आके, भर्जिल भान डाइक, डेन्जेल डमफ्रिस, जोरेल हाटो, जान पाउल भान हेके, मिकी भान डे भेन, जुरिएन टिम्बर।

  • मिडफिल्डर: रायन ग्राभेनबर्च, फ्रेन्की डे जङ, ट्युन कुपमेनर्स, तिजानी रेइन्डर्स, मार्टेन डे रून, गूस टिल, क्विन्टेन टिम्बर, म्याट्स विफर।

  • फरवार्ड: ब्रायन ब्रोबे, मेम्फिस डिपे, कोडी गाक्पो, जस्टिन क्लुइभर्ट, नोआ लाङ, डोनिएल मालेन, क्रिसेन्सियो समरभिल, वाउट वेघोर्ट्स।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.