लेख विवरण

वाई-वाई यू-१९ बागमती प्रदेश छनोट: पहिलो पटक सहभागिता जनाएको मकवानपुरको ऐतिहासिक जित, नुवाकोट १० रनले पराजित

वाई-वाई यू-१९ बागमती प्रदेश छनोट: पहिलो पटक सहभागिता जनाएको मकवानपुरको ऐतिहासिक जित, नुवाकोट १० रनले पराजित

काठमाडौँ| वाई-वाई महिला यू-१९ बागमती प्रदेश छनोट क्रिकेट प्रतियोगितामा मकवानपुर जिल्ला महिला यू-१९ टोलीले ऐतिहासिक सुरुवात गरेको छ। प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको मकवानपुरले आफ्नो पहिलो खेलमै नुवाकोट जिल्ला महिला यू-१९ टोलीलाई १० रनले पराजित गर्दै इतिहास रचेको हो।

माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा मकवानपुरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो।

मकवानपुरको ब्याटिङ र अतिरिक्त रनको वर्षा

पहिले ब्याटिङ गरेको मकवानपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७८ रनको योगफल तयार पारेको थियो। मकवानपुरका लागि ओपनर रोहिणी पाख्रिनले ३ र पुजना दाहालले ५ रन जोडिन्। यस्तै सुभाना ढकालले नटआउट ४ तथा ईशा घिसिङले नटआउट १ रन बनाइन्।

मकवानपुरलाई सम्मानजनक स्कोरमा पुर्‍याउन नुवाकोटका बलरहरूले दिएको अतिरिक्त रन निकै सहयोगी बन्यो। नुवाकोटले ४५ वाइड र १४ नो बलसहित कुल ६४ अतिरिक्त रन उपहार दिएको थियो।

नुवाकोटका तर्फबाट कसिलो बलिङ गर्दै युनिका न्यौपानेले ४ ओभरमा १४ रन खर्चेर सर्वाधिक ४ विकेट लिइन्। यस्तै समीक्षा चन्दले २ तथा आरजु परियारले १ विकेट हात पारे।

नुवाकोटको जवाफी ब्याटिङ र पुजनाको घातक बलिङ

७९ रनको लक्ष्य पछ्याएको नुवाकोटको टोली मकवानपुरको उत्कृष्ट बलिङ र कसिलो क्षेत्ररक्षणसामु टिक्न सकेन। नुवाकोट १५ ओभरमा मात्र ६८ रन बनाउँदै अलआउट हुन पुग्यो।

नुवाकोटका लागि सान्वी बिष्टले ११ बलमा ९, समीक्षा चन्दले ८ बलमा ५, सबिना श्रेष्ठले ६ र कप्तान जेनिफर शाहीले ६ रन बनाइन्। नुवाकोटको इनिङ्समा पनि ३९ अतिरिक्त रन थपिएको थियो।

नुवाकोटलाई सस्तैमा समेट्न मकवानपुरकी पुजना दाहालले घातक बलिङ गरिन्। उनले ४ ओभरमा २२ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिइन्। पुजनाकै सानदार प्रदर्शनका कारण उनी खेलको 'प्लेयर अफ दि म्याच' घोषित भइन्। त्यस्तै दीपिका भट्टराई, ईशा घिसिङ र कप्तान रितिका थापाले समान २-२ विकेट लिएर जित सुनिश्चित गरे।

पहिलो सहभागितामै इतिहास रचेपछि मकवानपुरमा खुसीयाली

मकवानपुर जिल्लाको महिला टोलीले प्रदेश छनोट प्रतियोगितामा सहभागिता जनाएको यो नै पहिलो पटक हो। पहिलो प्रयासमै टोलीले ऐतिहासिक जित दर्ता गरेपछि मकवानपुर क्रिकेट संघमा उत्साह छाएको छ।

टोलीको ऐतिहासिक जितपछि प्रतिक्रिया दिँदै मकवानपुर क्रिकेट संघका अध्यक्ष करन महतराले खुसी व्यक्त गरेका छन्। उनले महिला टोलीले पहिलो पटकमै उत्कृष्ट प्रदर्शन गरेर इतिहास रचेको भन्दै खेलाडीहरूको हौसला बढाएका छन् र आगामी खेलहरूका लागि शुभकामना समेत दिएका छन्।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.