विश्वकपअघि ब्राजिललाई ठूलो धक्का: पहिलो प्रशिक्षणमै नेयमार अनुपस्थित, टिममा पर्नेमा आशंका
रियो दि जेनेरियो — सन् २०२६ को फिफा विश्वकपको तयारीमा जुटेको ब्राजिलियन टोलीलाई सुरुवातमै ठूलो झट्का लागेको छ। टोलीका स्टार फरवार्ड नेयमार मेडिकल परिक्षणका कारण राष्ट्रिय टोलीको पहिलो प्रशिक्षण सत्रमा अनुपस्थित भएपछि विश्वकप टोलीमा उनको स्थानलाई लिएर आशंका उब्जिएको छ।
ब्राजिलियन फुटबल कन्फेडेरेसन (सिबीएफ)ले ३४ वर्षीय फरवार्ड नेयमार दाहिने पिँडुलाको चोटबाट ग्रसित रहेको र ग्राञ्जा कोमारीमा भएको बन्द प्रशिक्षणमा सहभागी नभएको पुष्टि गरेको छ। उनलाई थप इमेजिङ टेस्टका लागि टेरेसोपोलिसको एक निजी क्लिनिकमा पठाइएको छ।
सीबीएफले एक विज्ञप्ति जारी गर्दै भनेको छ, "राष्ट्रिय टोलीको मेडिकल टोलीले पूर्ण परीक्षण नगरेसम्म थप जानकारी सार्वजनिक गरिने छैन।" तर, विश्वकपको प्रशिक्षण क्याम्पको दोस्रो दिन नै नेयमारको अनुपस्थितिले विश्व फुटबलमा ठूलो तरंग पैदा गरेको छ।
मुख्य खेलाडीबिना नै पनामासँग भिड्दै ब्राजिल
ब्राजिलले आउँदो आइतबार माराकाना स्टेडियममा पनामाविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ। सो खेलअघि टोलीले ग्राञ्जा कोमारीमा थप तीन प्रशिक्षण सत्रहरू सञ्चालन गर्नेछ।
मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी यसअघि नै टोलीका तीन महत्त्वपूर्ण खेलाडी बिना नै रणनीति बुन्न बाध्य छन्। आउँदो शनिबार आर्सनल र पेरिस सेन्ट-जर्मेन (पिएसजी)बीच हुने च्याम्पियन्स लिग फाइनलका कारण डिफेन्डरद्वय ग्याब्रिएल मागाल्हास र मार्किन्होसका साथै फरवार्ड ग्याब्रिएल मार्टिनेली पनामाविरुद्धको खेलमा उपलब्ध हुने छैनन्।
तीन वर्षपछि नेयमारको पुनरागमन संकटमा
गत हप्ता मात्र नेयमारलाई टोलीमा फिर्ता बोलाइँदा विश्वभरका ब्राजिलियन समर्थकहरू उत्साहित भएका थिए। प्रशिक्षक एन्सेलोटीले कमाण्ड सम्हालेको एक वर्षको अवधिमा उनले नेयमारलाई आफ्नो योजनामा समेटेका थिएनन्।
ब्राजिलका लागि १२८ खेलमा ७९ गोल गर्दै देशकै सर्वाधिक गोलकर्ता बनेका नेयमारले सन् २०२३ देखि राष्ट्रिय टोलीबाट खेलेका छैनन्। निरन्तरको चोट र सान्तोस क्लबमा उनको औसत प्रदर्शनका कारण उनको फिटनेस र फर्ममाथि लगातार प्रश्न उठ्दै आएको थियो।
विश्वकपको कडा समूह र एन्सेलोटीको चेतावनी
ब्राजिलका लागि यो समय निकै संवेदनशील छ। पनामासँगको खेलपछि ब्राजिलले क्लिभल्याण्डमा इजिप्टसँग अन्तिम मैत्रीपूर्ण खेल खेल्नेछ। त्यसपछि जुन १३ मा न्युजर्सीमा अफ्रिकन च्याम्पियन मोरोक्कोविरुद्ध खेल्दै ब्राजिलले आफ्नो विश्वकप अभियानको सुरुवात गर्नेछ। विश्वकपको समूह 'सी' मा ब्राजिल र मोरोक्कोसँगै ह्याटी र स्कटल्याण्ड रहेका छन्।
मे महिनाको सुरुवातमै रोयटर्सलाई दिएको एक अन्तर्वार्तामा प्रशिक्षक एन्सेलोटीले 'नाम र प्रतिष्ठा' को भरमा मात्र कसैले पनि विश्वकप टोलीमा ठाउँ नपाउने प्रष्ट पारेका थिए। उनले नेयमारलाई कुनै विशेष प्राथमिकता नदिइने र उनको छनोट सेन्टिमेन्ट (भावना) मा नभई पूर्ण रूपमा फिटनेस र फर्ममा आधारित हुने चेतावनी दिएका थिए।
हाल, ब्राजिलियन टोली मेडिकल रिपोर्टको पर्खाइमा छ। ब्राजिलको सबैभन्दा ठूलो स्टार अर्को महिना मैदानमा उत्रिन फिट हुनेछन् या छैनन् भन्ने कुरा सोही रिपोर्टले तय गर्नेछ।
टिप्पणी लेख्नुहोस्