लेख विवरण

मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्याको इन्स्टाग्राम एकाउन्ट गायब भएर पुनः फर्कियो, सिएसके जाने हल्लाले बजार तात्यो

मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्याको इन्स्टाग्राम एकाउन्ट गायब भएर पुनः फर्कियो, सिएसके जाने हल्लाले बजार तात्यो

काठमाडौं — भारतीय टोलीका अलराउन्डर तथा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा मुम्बई इन्डियन्सको कप्तानी सम्हालेका हार्दिक पाण्ड्याको इन्स्टाग्राम एकाउन्ट बुधबार अचानक गायब (डिएक्टिभ) भएपछि सामाजिक सञ्जालमा ठूलो खैलाबैला मच्चिएको छ। यद्यपि, केही घण्टाको गायबपछि बुधबार राति नै उनको एकाउन्ट पुनः सुचारु (रिस्टोर) भएको छ।

आइपिएल २०२६ को सिजनमा मुम्बई इन्डियन्सको खराब प्रदर्शन र नवौं स्थानमा थन्किनु परेपछि लगातार आलोचनाको सिकार भइरहेका पाण्ड्याले एकाउन्ट किन बन्द गरे र फेरि किन खोले भन्नेबारे कुनै आधिकारिक जानकारी दिएका छैनन्। बुधबार दिउँसो उनको एकाउन्ट सर्च गर्दा ‘युजर नट फाउन्ड’ र ‘दिस प्रोफाइल इज प्राइभेट’ जस्ता मेसेजहरू देखिएका थिए।

Hardik Pandya deletes Instagram account after Mumbai Indians' horror IPL 2026 campaign

‘०७:०७’ को रहस्य र चेन्नई सुपर किंग्स (CSK) जाने चर्चा

इन्स्टाग्राम एकाउन्ट गायब हुनुअघि हार्दिक पाण्ड्याले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा तस्बिरले क्रिकेट वृत्तमा नयाँ तरंग ल्याएको थियो। उनले सेयर गरेको तस्बिरमा उनको मोबाइलको स्क्रिनमा समय ‘०७:०७’ देखिएको थियो।

प्रशंसकहरूले यसलाई चेन्नई सुपर किंग्स (सिएसके) का दिग्गज खेलाडी एमएस धोनीको जर्सी नम्बर ७ सँग जोडेर हार्दिक आगामी सिजनका लागि चेन्नईमा ट्रेड हुन लागेको दाबी गर्न थाले। कतिपयले त मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीच हार्दिक पाण्ड्या, शिवम् दुबे र आयुष म्हात्रेलाई समेटेर ठूलो ट्रेड डिल भइसकेको हल्ला समेत चलाए।

रविचन्द्रन अश्विनको ट्वीटले बल्यो आगो

यो हल्ला त्यतिबेला झन् बलियो बन्यो जब भारतीय टोलीका अनुभवी स्पिनर रविचन्द्रन अश्विनले सामाजिक सञ्जाल 'X' (ट्विटर) मा एउटा रहस्यमय पोस्ट गरे। एक प्रशंसकले कोलकाता नाइट राइडर्सले मतिशा पाथिरानालाई फुकुवा गरे सिएसकेले लिनुपर्छ कि पर्दैन भनेर सोधेको प्रश्नमा अश्विनले जवाफ दिएका थिए।

अश्विनले लेखे:

"पाथिराना, ०७:०७ र स्टोक्स! ओपनिङ ठीक छ, दुबे र ०७:०७ मिडल अर्डर/फिनिसिङ ठीक छ, ओभरटन र स्टोक्स ब्यालेन्स ठीक छ।"

अश्विनले सीधा हार्दिकको नाम नलिए पनि '०७:०७' शब्द प्रयोग गरेर उनलाई मिडल अर्डर र फिनिसिङको भूमिकामा सिएसकेको रणनीति भित्र समेटेको भन्दै प्रशंसकहरूले यसलाई हार्दिकको ट्रेड पक्का भएको संकेतका रूपमा बुझेका छन्।

आइपिएल २०२६ मा हार्दिकको कमजोर प्रदर्शन

रोहित शर्माको स्थानमा मुम्बई इन्डियन्सको कप्तान बनेका हार्दिकका लागि यो सिजन निकै खराब रह्यो। मुम्बई इन्डियन्सले १४ खेलमध्ये मात्र ४ खेल जित्दै तालिकाको नवौं स्थानमा चित्त बुझाउनु पर्‍यो।

हार्दिकको व्यक्तिगत प्रदर्शन पनि बिर्सनलायक रह्यो। उनले १० खेलमा जम्मा २०६ रन बनाए भने बलिङतर्फ मात्र ४ विकेट लिन सके। ढाडको समस्याका कारण उनले सिजनका केही महत्त्वपूर्ण खेलहरू समेत गुमाएका थिए। मुम्बईका ब्याटिङ प्रशिक्षक काइरन पोलार्डले पनि हार्दिकको कप्तानी र टोलीको प्रदर्शन सोचेअनुरूप नभएको स्वीकार गरिसकेका छन्।

इन्स्टाग्राम एकाउन्ट फिर्ता आए पनि हार्दिकले मुम्बई इन्डियन्स र टोलीका केही खेलाडीहरूलाई अनफलो गरेको चर्चाले उनी आगामी सिजन मुम्बईमा नरहने सम्भावनालाई बलियो बनाएको छ। हार्दिक अब जुन १४ देखि अफगानिस्तानविरुद्ध सुरु हुने तीन खेलको ओडिआई सिरिजमा मैदान उत्रने तयारीमा छन्, तर त्यसका लागि उनले 'सेन्टर अफ एक्सीलेन्स' बाट फिटनेस क्लियरेन्स पाउनु पर्नेछ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.