लेख विवरण

आइपीएल २०२६: आईपीएल इतिहासकै सबैभन्दा तीव्र शतक बनाउन कसरी चुके वैभव सूर्यवंशी? आफैँले गरे खुलासा

आइपीएल २०२६: आईपीएल इतिहासकै सबैभन्दा तीव्र शतक बनाउन कसरी चुके वैभव सूर्यवंशी? आफैँले गरे खुलासा

स्पोर्ट्स डेस्क, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ को एलिमिनेटर खेलमा सनराइजर्स हैदराबादविरुद्ध विष्फोटक ब्याटिङ गर्दै फेरि एकपटक सबैको ध्यान आफूतिर खिचेका राजस्थान रोयल्सका १५ वर्षीय युवा ओपनर वैभव सूर्यवंशी इतिहास रच्नबाट मात्र एक कदमले चुकेका छन्।

हैदराबादविरुद्ध मुल्लांपुरमा खेलिएको उक्त उच्च भोल्टेज नकआउट खेलमा वैभवसँग आईपीएल इतिहासकै सबैभन्दा तीव्र (फास्टेस्ट) शतक बनाउने ऐतिहासिक अवसर थियो। तर, उनी मात्र २९ बलमा ९७ रन बनाएर आउट भए। शतक बनाउन मात्र ३ रनले चुकेपछि वैभव आफैँ पनि स्तब्ध बनेका थिए। मैदानबाट ड्रेसिङ रुम फर्कने क्रममा पनि उनलाई आफू आउट भएको विश्वास लागिरहेको थिएन।

खेल सकिएपछि वैभवले आफू आईपीएलको सबैभन्दा तीव्र शतकको कीर्तिमान बनाउन कहाँ चुके र आफूबाट के गल्ती भयो भन्नेबारे खुलासा गरेका छन्।

'मैले गलत सट छनोट गरेँ' — वैभव

खेलपछिको कुराकानीमा युवा ब्याटर वैभवले भने, "मेरो दिमागमा यो एउटा ठुलो र नकआउट खेल हो भन्ने थियो। तर हाम्रा प्रशिक्षकहरूले मलाई अभ्यासमा जे गरिरहेको थिएँ, त्यही खेल मैदानमा पनि दोहोऱ्याउन, खेलको आनन्द लिन र दबाब नलिन सल्लाह दिनुभएको थियो। मैदानमा मैले फिल्डरलाई हेरेर सट खेलेँ, जसका कारण सट मिसटाइम हुन पुग्यो। यदि मैले थर्ड म्यानतर्फ सट खेलेको भए त्यो सजिलै बाउन्ड्री पार हुने थियो। तर, मैले सिधा (स्ट्रेट) सट प्रहार गर्ने प्रयास गरेँ र त्यहीँ मेरो सट मिस भयो।"

क्रिस गेलको १४ वर्ष पुरानो कीर्तिमान ध्वस्त

सबैभन्दा तीव्र शतक बनाउन चुके पनि वैभवले वेस्टइन्डिजका लेजेन्ड क्रिक गेलको एउटा ठुलो महारिकॉर्ड भने तोडेका छन्। उनी आईपीएलको एकै सिजनमा सबैभन्दा बढी छक्का प्रहार गर्ने ब्याटर बनेका छन्।

हैदराबादविरुद्ध २९ बलमा १२ छक्का र ५ चौका प्रहार गरेका वैभवको यस सिजनमा कुल ६५ छक्का पुगेको छ। यसअघि क्रिस गेलले सन् २०१२ को आईपीएल सिजनमा ५९ छक्का प्रहार गर्दै कीर्तिमान बनाएका थिए, जसलाई १५ वर्षीय वैभवले ध्वस्त पारिदिएका छन्। स्मरण रहोस्, आईपीएलमा सबैभन्दा तीव्र शतकको कीर्तिमान अझै पनि क्रिस गेल (३० बल) कै नाममा सुरक्षित छ।

फाइनल प्रवेशका लागि गुजरात टाइटन्ससँग भिड्ने

खेलमा वैभव सूर्यवंशी ९७ रन बनाएर आउट हुँदा राजस्थानको स्कोर ८ ओभरमा १२५ रन थियो। त्यसपछि हैदराबादका बलरहरूले पुनरागमन गरे पनि राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर २४३ रनको विशाल योगफल खडा गर्यो। प्रत्युत्तरमा सनराइजर्स हैदराबादले लक्ष्य पछ्याउन सकेन र एलिमिनेटरबाटै उसको यस सिजनको यात्रा समाप्त भयो।

हैदराबादलाई पाखा लगाउँदै क्वालिफायर–२ मा प्रवेश गरेको राजस्थान रोयल्सले अब फाइनल टिकटका लागि शुक्रबार गुजरात टाइटन्सको सामना गर्नेछ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.