लेख विवरण

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल: विश्वकपको तयारीमा रहेको केप भर्डको सानदार प्रदर्शन, सर्बिया ३–० ले स्तब्ध

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल: विश्वकपको तयारीमा रहेको केप भर्डको सानदार प्रदर्शन, सर्बिया ३–० ले स्तब्ध

काठमाडौँ। इतिहासमै पहिलो पटक फिफा विश्वकपका लागि छनोट भएर धमाका मच्चाउने तयारीमा रहेको अफ्रिकी राष्ट्र केप भर्ड (ब्लु सार्क्स) ले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा युरोपेली पावरहाउस सर्बियामाथि ३–० को ऐतिहासिक र सानदार जित दर्ता गरेको छ। पोर्चुगलको लिस्बनस्थित एस्टाडियो डो रेस्टेलो तटस्थ मैदानमा आइतबार भएको खेलमा केप भर्डले सर्बियालाई पूर्ण रूपमा दबाबमा राख्दै क्लिन सिटसहितको जित निकालेको हो।

उत्तर अमेरिकामा आयोजना हुन गइरहेको विश्वकप २०२६ को पूर्वसन्ध्यामा केप भर्डका लागि यो जितले टोलीको आत्मविश्वास र रणनीतिलाई बलियो बनाएको छ। केप भर्डको जितमा केभिन पिना, लारोस दुआर्टे र बेन्चिमोलले समान १–१ गोल गरे।

पहिलो हाफमा पिनाको गोलबाट सुरुवाती अग्रता

खेलको सुरुवातदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको केप भर्डले पहिलो हाफमै खेलमा पकड जमाएको थियो। खेलको २०औँ मिनेटमा केप भर्डका मिडफिल्डर केभिन पिनाले उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को सुरुवाती अग्रता दिलाए। सर्बियाले खेलमा फर्कनका लागि केही बलिया प्रहारहरू गरे पनि केप भर्डको रक्षापंक्ति र गोलकिपर भोझिन्हाले त्यसलाई असफल तुल्याइदिए।

दोस्रो हाफमा केप भर्डको दबदबा र गोलको वर्षा

दोस्रो हाफमा सर्बियाले रणनीति परिवर्तन गर्दै गोल फर्काउने प्रयास गरे पनि केप भर्डको तीव्र गतिको काउन्टर अट्याक सामु उनीहरूको डिफेन्स निरिह देखियो।

खेलको ५८औँ मिनेटमा सिड्नी काब्रालको पासलाई सदुपयोग गर्दै लारोस दुआर्टेले उत्कृष्ट गोल गरी केप भर्डको अग्रता २–० मा पुर्‍याए। त्यसको ठीक ४ मिनेटपछि अर्थात् ६२औँ मिनेटमा मैदान भित्रिएका सब्सटिच्युट खेलाडी बेन्चिमोलले कडा प्रहार गर्दै बललाई जाली चुमाएपछि केप भर्डले ३–० को विशाल र अपराजित अग्रता लियो।

मैत्रीपूर्ण खेलमा 'यल्लो कार्ड' को बाढी र आक्रामक रूप

खेल मैत्रीपूर्ण भनिए पनि दुवै टोलीबिच मैदानमा निकै आक्रामक र शारीरिक प्रतिस्पर्धा देखियो। खेलका क्रममा दुवै टोलीका खेलाडीबिच भनाभन भएपछि रेफ्रीले केप भर्डका जामिरो मोन्टेइरो र मोरेइरा तथा सर्बियाका एन्ड्रीजा जिभकोभिच र जुकिकलाई पहेँलो कार्ड देखाएका थिए। खेलको अन्तिम समयतिर दुवै प्रशिक्षकले धेरै खेलाडीहरू परिवर्तन गरेपछि खेलको गति केही सुस्त बनेको थियो र सर्बियाले कुनै सान्त्वना गोल समेत फर्काउन सकेन।

विश्वकप २०२६ को समूह 'एच' मा रहेको केप भर्डले जुन १५ मा विश्वविजेता स्पेनविरुद्ध खेल्दै आफ्नो ऐतिहासिक विश्वकप यात्रा सुरु गर्नुअघि यो जितले टोलीलाई ठूलो उर्जा प्रदान गरेको छ। अर्कोतर्फ, यस पटकको विश्वकपमा छनोट हुन असफल सर्बियाका लागि भने यो हारले रक्षापंक्तिको कमजोरीलाई पुनः उदाङ्गो पारेको छ।

खेलको संक्षिप्त विवरण:

  • केप भर्ड: ३ (केभिन पिना २०', लारोस दुआर्टे ५८', बेन्चिमोल ६२')

  • सर्बिया: ०

  • नतिजा: केप भर्ड ३–० ले विजयी।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.