प्याराग्लाइडिङको परीक्षण उडान सफल
बेनी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्थित धार्मिक पर्यटकीयस्थल ताकमकोतबाट साहसिक मानिने प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ ।
भ्रमणको क्रममा आएका अष्ट्रियाका एक नागरिकले बिहीबार ताकमकोत परिसरबाट प्याराग्लाइडिङको उडान गरेका थिए ।
समुन्द्री सतहदेखि दुई हजार ५०० मिटर उचाइमा रहेको कोत परिसरबाट प्याराग्लाइडिङको उडान गरेका उनले करिब आधा घण्टा आकासमै बिताएर ताकमको किमचौर फाँटमा अवतरण गरेका थिए ।
‘‘यो ताकमकोतबाट भएको पहिलो प्याराग्लाइडिङ हो, आँखै अगाडि देखिने मनोरम हिमशृङ्खलाको अवलोकन गर्दै उनले प्याराग्लाइडिङ गरे, यहाँबाट प्याराग्लाइडिङको उडान गर्ने सम्भावनालाई उजागर भएको छ ।
ताकमदेखि मोटरसाईकल हुँदै कोत परिसर पुगेर पर्यटकले आकासमा प्याराग्लाइडिङ गरेका थिए । खुला आकासमा चराजस्तै उडेर वरिपरिका हिमालको अवलोकनसँगै भू–सतह नियाल्नुको आनन्दले लोभ्याएको उनले प्रतिक्रिया दिए ।
ऐतिहासिक ताकम कोत मन्दिर पुनःनिर्माण गरी अन्य पर्यटन पूर्वाधार निर्माण भइरहेको अवस्थामा प्याराग्लाइडिङको सफल उडान भएपछि स्थानीयवासी उत्साहित बनेका छन् ।
टिप्पणी लेख्नुहोस्