वाई वाई महिला यू-१९ लुम्बिनी प्रदेश छनोट: बाँकेलाई १० विकेटले स्तब्ध पार्दै रूपन्देही बन्यो च्याम्पियन, आयूषा प्लेयर अफ द म्याच
बुटवल। वाई वाई महिला यू-१९ लुम्बिनी प्रदेश छनोट क्रिकेट प्रतियोगिताको उपाधि रूपन्देही महिला यू-१९ टोलीले जितेको छ। सहिद स्मृति रंगशालामा आज सम्पन्न फाइनल खेलमा बाँके महिला यू-१९ टोलीलाई १० विकेटको निकै फराकिलो अन्तरले पराजित गर्दै रूपन्देहीले च्याम्पियनको ट्रफी उचालेको हो।
खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको बाँकेको ब्याटिङ प्रदर्शन निकै निराशाजनक रह्यो। रूपन्देहीका बलरहरूले घातक बलिङ गरेपछि बाँकेको टोली मात्र ९ ओभरमा २० रनमै अलआउट हुन पुग्यो। बाँकेका लागि गीता परियारले अविजित ६ रन र आशिका भट्टराईले ४ रन जोड्नु बाहेक अन्य ब्याटर चल्न सकेनन्। बाँकेलाई सस्तैमा समेट्न रूपन्देहीकी आयूषा भुसालले घातक बलिङ गरिन्। उनले ३ ओभरमा मात्र ४ रन खर्चेर ३ विकेट लिइन्। उत्कृष्ट प्रदर्शन गरेकी आयूषा खेलको 'प्लेयर अफ द म्याच' घोषित भइन्। त्यस्तै प्रिन्शा अर्यालले २ तथा इक्रा हसन र अन्जी पाठकले समान १-१ विकेट हात पारे।
२१ रनको सामान्य लक्ष्य पछ्याएको रूपन्देहीले कुनै पनि विकेट नगुमाई मात्र ५.१ ओभरमा २४ रन बनाउँदै सानदार जित दर्ता गर्यो। रूपन्देहीको जितमा प्रारम्भिक ब्याटर तथा कप्तान अन्जी पाठकले १६ बलमा १ चौकाको मद्दतले अविजित १२ रन बनाइन् भने कस्तुर गौचनले १५ बलमा १ चौका प्रहार गर्दै अविजित ८ रनको योगदान दिइन्।
खेलको संक्षिप्त स्कोरकार्ड:
-
बाँके महिला यू-१९: २०/१० (९.० ओभर) (गीता परियार ६*, आशिका भट्टराई ४; आयूषा भुसाल ३/४, प्रिन्शा अर्याल २/६)
-
रूपन्देही महिला यू-१९: २४/० (५.१ ओभर) (अन्जी पाठक १२*, कस्तुर गौचन ८*)
-
नतिजा: रूपन्देही महिला यू-१९ टोली १० विकेटले विजयी हुँदै च्याम्पियन।
टिप्पणी लेख्नुहोस्