लेख विवरण

वाई वाई महिला यू-१९ कोशी प्रदेश छनोट: झापालाई हराउँदै मोरङ बन्यो च्याम्पियन, सोवेक्षा प्लेयर अफ द म्याच

वाई वाई महिला यू-१९ कोशी प्रदेश छनोट: झापालाई हराउँदै मोरङ बन्यो च्याम्पियन, सोवेक्षा प्लेयर अफ द म्याच

काठमाडौँ। वाई वाई महिला यू-१९ कोशी प्रदेश छनोट क्रिकेट प्रतियोगिताको उपाधि मोरङ महिला यू-१९ टोलीले जितेको छ। आइतबार भएको फाइनल भिडन्तमा झापा महिला यू-१९ टोलीलाई ८ विकेटको सानदार अन्तरले पराजित गर्दै मोरङले उपाधि आफ्नो पोल्टामा पारेको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको झापाको इनिङ्स मोरङका बलरहरूको घातक बलिङसामु टिक्न सकेन। झापाले १४.४ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै मात्र २६ रन जोड्न सक्यो। झापाका लागि दीक्षा बस्नेत र दिपशिखा भुजेलले समान ४–४ रन जोड्नु बाहेक अन्य ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन्। झापालाई सस्तैमा समेट्ने क्रममा मोरङकी सोवेक्षा लिम्बुले उत्कृष्ट बलिङ गरिन्। उनले ३ ओभरमा १ मेडन राख्दै मात्र ५ रन खर्चेर ३ विकेट लिइन्। उनी खेलको 'प्लेयर अफ द म्याच' समेत घोषित भइन्। त्यस्तै, फूलकुमारी राजवंशीले २ तथा बन्दना राजवंशी, क्रिस्टिना धामी र सिर्जना राजवंशीले समान १-१ विकेट लिए।

२७ रनको सामान्य लक्ष्य पछ्याएको मोरङले ८.३ ओभरमा २ विकेट गुमाउँदै ३० रन बनाएर लक्ष्य सहजै पूरा गर्‍यो। मोरङको जितमा पूर्णिमा राजवंशीले अविजित १२ रन र खुसी राजवंशीले ९ रनको योगदान दिए। प्रिन्सा रानामगर २ रनमा अविजित रहिन्। झापाका तर्फबाट प्रिया मलाहाले ४ ओभरमा १ मेडन ओभरसहित १० रन खर्चेर २ विकेट लिए पनि टोलीलाई जित दिलाउन त्यो पर्याप्त हुन सकेन।

खेलको संक्षिप्त स्कोरकार्ड:

  • झापा महिला यू-१९: २६/१० (१४.४ ओभर) (दीक्षा बस्नेत ४, दिपशिखा भुजेल ४; सोवेक्षा लिम्बु ३/५, फूलकुमारी राजवंशी २/५)

  • मोरङ महिला यू-१९: ३०/२ (८.३ ओभर) (पूर्णिमा राजवंशी १२, खुसी राजवंशी ९; प्रिया मलाहा २/१०)*

  • नतिजा: मोरङ महिला यू-१९ टोली ८ विकेटले विजयी।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.