लेख विवरण

बागमती कप क्रिकेट: मकवानपुरमाथि चितवनको ५४ रनको सानदार जित, प्रतीक श्रेष्ठ चम्किए

बागमती कप क्रिकेट: मकवानपुरमाथि चितवनको ५४ रनको सानदार जित, प्रतीक श्रेष्ठ चम्किए

हेटौँडा। बागमती कप २०२६ अन्तर्गत आइतबार भएको लिग चरणको खेलमा चितवनले मकवानपुरमाथि ५४ रनको सानदार जित दर्ता गरेको छ। गौरीटार क्रिकेट रंगशालामा वर्षा कारणले ८ ओभरमा छोट्याइएको खेलमा चितवनले दिएको १०७ रनको विशाल लक्ष्य पछ्याएको मकवानपुर निर्धारित ओभरमा मात्र ५२ रनमा समेटिन पुग्यो।

खेलमा टस जितेर मकवानपुरले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको चितवनले विष्फोटक सुरुवात गर्‍यो। चितवनले ८ ओभरमा ४ विकेट गुमाउँदै १०६ रनको बलियो योगफल तयार पारेको थियो। चितवनका लागि प्रतीक श्रेष्ठले मात्र १३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अविजित ४० रनको आक्रामक इनिङ्स खेले। त्यस्तै पवन बहादुर थापाले १३ बलमा २२ र प्रसन्न न्यौपानेले मात्र ६ बलमा ३ छक्कासहित २४ रनको विष्फोटक योगदान दिए। मकवानपुरका समिर चौलागाईं, साकार गजुरेल, विशाल फुयाँल र शुभ कंसाकारले समान १–१ विकेट लिए।

१०७ रनको कठिन लक्ष्य पछ्याएको मकवानपुर चितवनका बलरहरूको कसिलो बलिङसामु निरिह देखियो। मकवानपुरले ८ ओभरमा ४ विकेट गुमाएर मात्र ५२ रन बनाउन सक्यो। टोलीका लागि गोकुल अधिकारीले १७ र युबिन बुढाथोकीले अविजित १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

चितवनको जितमा ब्याटिङसँगै बलिङमा पनि चम्किएका प्रतीक श्रेष्ठ 'प्लेयर अफ द म्याच' घोषित भए। उनले २ ओभरमा मात्र ६ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए। त्यस्तै कृजन गुरुङले १ विकेट हात पारे।

खेलको संक्षिप्त स्कोरकार्ड:

  • चितवन: १०६/४ (८.० ओभर) (प्रतीक श्रेष्ठ ४०*, प्रसन्न न्यौपाने २४, पवन बहादुर थापा २२; साकार गजुरेल १/१०)

  • मकवानपुर: ५२/४ (८.० ओभर) (गोकुल अधिकारी १७, युबिन बुढाथोकी १३*; प्रतीक श्रेष्ठ ३/६, कृजन गुरुङ १/१३)

  • नतिजा: चितवन ५४ रनले विजयी।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.