लेख विवरण

आईपीएल २०२६ का यी हुन् सबैभन्दा ठूला विवाद: ड्रेसिङ रुमको 'वेपिङ काण्ड'देखि कोहली-हेडको लफडासम्म

आईपीएल २०२६ का यी हुन् सबैभन्दा ठूला विवाद: ड्रेसिङ रुमको 'वेपिङ काण्ड'देखि कोहली-हेडको लफडासम्म

काठमाडौं, १७ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १९औँ सिजनको फाइनल खेलसँगै समापन हुँदैछ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र गुजरात टाइटन्सबिच फाइनल भिडन्त हुँदै गर्दा यो सिजन क्रिकेट प्रेमीका लागि जति रोमाञ्चक र यादगार रह्यो, त्यति नै विवादित पनि बन्यो। ठूला स्कोर र नयाँ खेलाडीको उदयसँगै यो सिजन मैदानभित्र र बाहिरका अनेकौँ विवादका कारण पनि लगातार चर्चामा रह्यो।

भारतीय सञ्चार माध्यमका अनुसार आईपीएल २०२६ का सर्वाधिक चर्चामा रहेका ठूला विवादहरू यस प्रकार छन्:

१. रियान परागको ड्रेसिङ रुम 'वेपिङ काण्ड'

राजस्थान रोयल्सका २४ वर्षीय कप्तान रियान पराग पञ्जाब किंग्सविरुद्धको खेलका क्रममा विवादमा तानिए। दोस्रो इनिङ्सको १६औँ ओभरमा ब्रोडकास्ट क्यामेराले उनलाई ड्रेसिङ रुममा 'वेप' (इलेक्ट्रोनिक चुरोट) तान्दै गरेको अवस्थामा कैद गर्‍यो, जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। यस घटनापछि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले उनीमाथि कारबाही गर्दै जरिवाना समेत तोकेको थियो, यद्यपि उनीमाथि प्रतिबन्ध भने लगाइएन।

२. युजवेन्द्र चहलको विमानभित्र वेपिङ र अर्शदीपको भ्लग

पञ्जाब किंग्सका स्पिनर युजवेन्द्र चहल पनि विमानभित्र वेपिङ गरेको आरोपमा विवादमा परे। पञ्जाब किंग्सको टोली अहमदाबादबाट हैदराबाद यात्रा गरिरहेका बेला सहकर्मी बलर अर्शदीप सिंहले बनाएको भ्लगको एउटा क्लिप भाइरल भयो। जसमा चहलले फ्लाइटभित्रै वेप प्रयोग गरेको दाबी गरिएपछि सामाजिक सञ्जालमा ठुलो बहस निम्तियो र यसले अर्शदीपको भ्लगिङमाथि समेत प्रश्न उठायो।

३. टिम डेभिडको अश्लील इशारा

मुम्बई इन्डियन्स र आरसीबीबिचको रोमाञ्चक खेलपछि अर्को एउटा विवाद बाहिर आयो। आरसीबीका ब्याटर टिम डेभिडको एउटा भिडियो सार्वजनिक भयो, जसमा उनले मुम्बई इन्डियन्सतर्फ लक्षित गर्दै माइला औँला (Middle Finger) उठाएर अश्लील इशारा गरेको दाबी गरियो। यो घटनाले सामाजिक सञ्जालमा निकै उग्र रूप लिएको थियो।

४. जब विराट कोहलीले ट्राभिस हेडसँग हात मिलाएनन्

सनराइजर्स हैदराबाद र आरसीबीबिचको खेलका क्रममा विराट कोहली र ट्राभिस हेडबिच मैदानमै भनाभन भएको थियो। खेल सकिएपछि पनि कोहलीको रिस शान्त भएन। खेलपछिको 'ह्यान्डसेक' का क्रममा कोहलीले हैदराबादका अन्य सबै खेलाडीसँग हात मिलाए तर हेडले हात अगाडि बढाउँदा पनि उनलाई पूर्ण रूपमा बेवास्ता गर्दै अगाडि बढे। यो भिडियोले क्रिकेट जगतमा निकै चर्चा पायो।

५. पाण्ड्या दाजुभाइबिचको असमझदारी र आक्रामक सेलिब्रेसन

यो सिजन मुम्बई इन्डियन्स र आरसीबीबिचको खेलका क्रममा दुई भाइबिचको सम्बन्धको तित्तता पनि सतहमा आयो। हार्दिक पाण्ड्या र क्रुणाल पाण्ड्याबिचको सम्बन्ध चिसिएको चर्चा तब सत्य सावित जस्तै देखियो, जब हार्दिक आउट हुँदा क्रुणालले मैदानमा अत्यधिक आक्रामक शैलीमा उत्सव (सेलिब्रेसन) मनाए। सधैँ मैदानमा ठट्टा गर्ने यी दुई दाजुभाइबिचको यो रूप प्रशंसकहरूका लागि निकै अचम्मको थियो।

६. एम्पायरसँग भिडे नितिश राणा र करुण नायर

चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सबिच चेपौकमा भएको खेलको अन्तिम ओभरहरूमा ठुलो ड्रामा देखियो। दिल्ली क्यापिटल्सका खेलाडीहरू नितिश राणा र करुण नायर मैदानमै फोर्थ एम्पायरसँग बहस गर्न पुगे भने टोलीका प्रशिक्षक हेमङ्ग बदानी पनि एम्पायरसँग आक्रोशित रूपमा प्रस्तुत भए। सोही खेलमा आउट भएपछि दिल्लीका ट्रिस्टन स्टब्स यति रिसाए कि उनले ड्रेसिङ रुममा पुगेर आफ्नो हेल्मेट नै फालेका थिए।

७. अङ्ककृष रघुवंशीको 'अब्स्ट्रक्टिङ द फिल्ड' विवाद

कोलकाता नाइट राइडर्सका युवा खेलाडी अङ्ककृष रघुवंशी आईपीएलको ३८औँ खेलमा 'अब्स्ट्रक्टिङ द फिल्ड' (फिल्डिङमा बाधा पुर्‍याएको) नियम अन्तर्गत आउट भए। क्रिकेट जगतमा यो नियम निकै कम प्रयोग हुने गर्छ। उनी यसरी आउट भएपछि खेलको नियम र खेल भावनालाई लिएर सामाजिक सञ्जाल तथा क्रिकेट विज्ञहरूबिच नयाँ बहस छेडिएको थियो।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.