लेख विवरण

नेपाली क्रिकेटको अर्को विश्वकीर्तिमान: टी-२० अन्तर्राष्ट्रियमा दोस्रो पटक ३०० पार

नेपाली क्रिकेटको अर्को विश्वकीर्तिमान: टी-२० अन्तर्राष्ट्रियमा दोस्रो पटक ३०० पार

काठमाडौँ। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पुनः एकपटक इतिहास रचेको छ। एसियन गेम्स पुरुष टी-२० क्वालिफायरको आफ्नो पहिलो खेलमा नेपालले चीनविरुद्ध २९ छक्काको वर्षा गर्दै ३१३ रनको विशाल योगफल खडा गरेको हो। यससँगै टी-२० अन्तर्राष्ट्रिय इतिहासमा दुई पटक ३०० भन्दा बढी रन बनाउने नेपाल विश्वकै पहिलो टोली बनेको छ।

सिंगापुरको राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर ३१३ रनको पहाड खडा गर्‍यो। जवाफी ब्याटिङमा उत्रिएको चीन १९.२ ओभरमा ९२ रनमै समेटिएपछि नेपालले २२१ रनको विशाल अन्तरको जित दर्ता गरेको छ।

कुशल भुर्तेलको विष्फोटक शतक, मल्ल र पौडेलको आक्रामक ब्याटिङ

नेपालका प्रारम्भिक ब्याटर कुशल भुर्तेलले मैदानको चारैतर्फ छक्काको वर्षा गर्दै विष्फोटक शतकीय इनिङ्स खेले। उनले मात्र ४३ बलमा १६ छक्का र ५ चौका प्रहार गर्दै १२९ रनको इनिङ्स खेले। यस्तै, कुशल मल्लले ४७ बलमा अविजित ८५ रन (८ चौका, ५ छक्का) तथा रोहितकुमार पौडेलले मात्र २१ बलमा अविजित ६९ रनको तुफानी इनिङ्स खेल्दै टोलीलाई ऐतिहासिक स्कोरसम्म पुर्‍याए। रोहितले आफ्नो इनिङ्समा ७ छक्का र ५ चौका प्रहार गरे। नेपाली ब्याटरहरूले चीनविरुद्धको यस इनिङ्समा कुल २९ गगनचुम्बी छक्का प्रहार गरे।

चिनियाँ टोली ९२ रनमै अलआउट

३१४ रनको विशाल लक्ष्य पछ्याएको चिनियाँ टोली नेपाली ब्याटिङ लाइनअप जस्तै आक्रामक देखिन सकेन। नेपालका बलरहरूको कसिलो र घातक बलिङसामु चिनियाँ ब्याटरहरू निरीह बने। चीनका लागि केही ब्याटरले संघर्ष गरे पनि सिङ्गो टोली १९.२ ओभरमा ९२ रनमा अलआउट भयो।

नेपालका लागि बलिङतर्फ कुशल मल्लले अचम्मको स्पेल फाल्दै मात्र १.२ ओभरमा कुनै रन नदिई ३ विकेट चट्काए। त्यस्तै सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट हात पारे।

यसअघि नेपालले सन् २०२३ को एसियन गेम्समा मंगोलियाविरुद्ध ३१४ रन बनाउँदै पहिलो पटक ३०० रनको आँकडा पार गर्ने विश्वकीर्तिमान बनाएको थियो। आज चीनविरुद्धको यो प्रदर्शनसँगै नेपालले टी-२० क्रिकेटमा आफ्नो बलियो साम्राज्य र आक्रामक ब्याटिङ शक्तिको पुनः पुष्टि गरेको छ।

खेलको संक्षिप्त स्कोरकार्ड:

  • नेपाल: ३१३/२ (२०.० ओभर) (कुशल भुर्तेल १२९, कुशल मल्ल ८५*, रोहित पौडेल ६९*)

  • चीन: ९२/१० (१९.२ ओभर) (कुशल मल्ल ३/०, सोमपाल कामी २/११, सन्दीप लामिछाने २/२९)

  • नतिजा: नेपाल २२१ रनले विजयी।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.