लेख विवरण

आरटी गोल्डकप: न्यू ब्वाइज एफसी केएलमाथि एन पेनाङ एफसीको सहज जित, सेमिफाइनल समीकरण पूरा

आरटी गोल्डकप: न्यू ब्वाइज एफसी केएलमाथि एन पेनाङ एफसीको सहज जित, सेमिफाइनल समीकरण पूरा

काठमाडौँ, मलेसियामा जारी 'दोस्रो आरटी गोल्डकप २०२६' अन्तर्गत भर्खरै सम्पन्न चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा एन पेनाङ एफसी विजयी भएको छ। शाह आलमस्थित पानासोनिक स्टेडियममा सम्पन्न खेलमा न्यू ब्वाइज एफसी केएललाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै एन पेनाङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो।

एन पेनाङको जितसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण समेत पूरा भएको छ।

पहिलो हाफमै एन पेनाङको एकलौटी दबदबा

खेलको सुरुवातदेखि नै न्यू ब्वाइजमाथि हाबी भएको एन पेनाङले पहिलो हाफमै खेल आफ्नो नियन्त्रणमा लिएको थियो।

  • खेल सुरु भएको तेस्रो मिनेटमै उत्कृष्ट मुभ बनाउँदै एन पेनाङले १–० को सुरुवाती अग्रता लियो।

  • त्यसपछि सम्हालिएर खेलेको न्यू ब्वाइजविरुद्ध खेलको २१ औँ मिनेटमा एन पेनाङले दोस्रो गोल थप्यो।

  • लगतै २३ औँ मिनेटमा अर्को गोल गर्दै एन पेनाङले खेलमा ३–० को बलियो स्थिति बनायो।

  • खेलको ३८ औँ मिनेटमा एन पेनाङका फरवार्डले चौथो गोल गरेपछि टोलीले ४–० को सहज र सानदार जित सुनिश्चित गर्‍यो। न्यू ब्वाइजले खेलमा फर्कने केही प्रयास गरे पनि एन पेनाङको बलियो रक्षापङ्क्ति तोड्न सकेन।

आकर्षक पुरस्कार राशि र व्यक्तिगत विधा

मे ३१ (जेठ १७) देखि जुन १ सम्म मलेसियामा आयोजना भइरहेको यस खेलकुद महोत्सवको पुरस्कार राशि निकै आकर्षक रहेको छ:

  • विजेता टोली: आकर्षक ट्रफीसहित २२,००० मलेसियन रिंगेट (नेपाली रुपैयाँ करिब ६ लाखभन्दा बढी)।

  • उपविजेता टोली: ११,००0 मलेसियन रिंगेट (करिब ३ लाख नेपाली रुपैयाँ)।

आयोजक आरटीएफसीका अनुसार टोलीगत उपाधिका अलावा खेलाडीहरूको उत्कृष्ट प्रदर्शनलाई कदर गर्न विभिन्न व्यक्तिगत विधाहरूमा पनि पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई जनही ३०० मलेसियन रिंगेट र ट्रफीद्वारा पुरस्कृत गरिनेछ।

मलेसियामा रहेका प्रवासी नेपाली फुटबल प्रेमीहरूको उत्साहजनक र बाक्लो उपस्थितिले पानासोनिक स्टेडियमको वातावरण निकै संगीतमय र उल्लासमय बनेको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.