आरटी गोल्डकप: सर्लाही एफसीमाथि एन पेनाङको १२ गोलको वर्षा, फाइनलको यात्रा तय
क्वालालम्पुर, १८ जेठ (जुन १) ।
मलेसियामा जारी 'दोस्रो आरटी गोल्डकप २०२६' को दोस्रो सेमिफाइनल खेलमा एन पेनाङ एफसीले सानदार जित दर्ता गर्दै फाइनलको यात्रा तय गरेको छ। शाह आलमस्थित पानासोनिक स्टेडियममा भर्खरै सम्पन्न एकपक्षीय खेलमा एन पेनाङले सर्लाही एफसीलाई १२–० को विशाल गोल अन्तरले पराजित गरेको हो।
अब उपाधिका लागि एन पेनाङ एफसी र पहिलो सेमिफाइनल खेल जितेको न्यू ब्वाइज एफसी जोहोरबीच केही बेरमा फाइनल भिडन्त हुँदैछ।
पहिलो हाफमै ५ गोल: सुरेशको ह्याट्रिक
खेलको सुरुवाती मिनेटदेखि नै एन पेनाङले सर्लाही एफसीमाथि पूर्ण दबाब बनाएको थियो। खेलको तेस्रो मिनेटमै सुरुआती अग्रता लिएको एन पेनाङले १५ औं मिनेटमा पेनाल्टीको सुनौलो अवसरलाई सदुपयोग गर्दै २–० को स्थितिमा पुग्यो। त्यसपछि खेलको २२ औं र ३० औं मिनेटमा लगातार गोल थप्दै टोलीले ४–० को अग्रता बनायो। यसै क्रममा एन पेनाङका स्टार खेलाडी सुरेश खत्रीले आफ्नो उत्कृष्ट ह्याट्रिक पूरा गरे। लगतै ३३ औं मिनेटमा सुरेशले व्यक्तिगत चौथो गोल गरेपछि पहिलो हाफमै एन पेनाङ ५–० ले अगाडि रह्यो।
दोस्रो हाफमा गोलको वर्षा: ४ मिनेटमा ४ गोल
दोस्रो हाफमा पनि एन पेनाङको गोल गर्ने क्रम रोकिएन। दोस्रो हाफ सुरु भएको पाँचौं मिनेटमै टोलीले छैटौं गोल थप्यो। त्यसपछि सर्लाहीको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै एन पेनाङले खेलको ३८ औं, ४० औं र ४१ औं मिनेटमा लगातार गोल गर्दै ९–० को अग्रता लियो। खेलको अन्तिम समयतिर सर्लाही एफसी पूर्ण रूपमा पाखा लाग्यो, जहाँ एन पेनाङले खेलको ४६ औं, ४८ औं, ४९ औं र ५० औं मिनेटमा लगातार गोल गर्दै १२–० को ऐतिहासिक जित सुनिश्चित गर्यो।
आकर्षक पुरस्कार र व्यक्तिगत विधा
मे ३१ देखि जुन १ सम्म मलेसियामा आयोजना भइरहेको यस प्रतियोगिताको पुरस्कार राशि निकै आकर्षक रहेको छ। विजेता र उपविजेता टोलीले प्राप्त गर्ने पुरस्कार रकम यस प्रकार छ:
-
विजेता टोली: आकर्षक ट्रफीसहित २२,००० मलेसियन रिंगेट
-
उपविजेता टोली: ११,००० मलेसियन रिंगेट
व्यक्तिगत विधा तर्फ: आयोजक आरटीएफसीका अनुसार विधागत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई जनही ३०० मलेसियन रिंगेट र ट्रफी प्रदान गरिनेछ। पुरस्कृत गरिने विधाहरू निम्न छन्:
-
उत्कृष्ट गोलकिपर
-
उत्कृष्ट मिडफिल्डर
-
उत्कृष्ट डिफेन्डर
-
उत्कृष्ट प्रशिक्षक
-
सर्वोत्कृष्ट खेलाडी
मलेसियामा रहेका प्रवासी नेपाली फुटबल प्रेमीहरूको बाक्लो र उत्साहजनक उपस्थितिले प्रतियोगितालाई थप भव्य बनाएको छ। केही बेरमा सुरु हुने फाइनल खेलमा पनि दर्शकहरूको अभूतपूर्व उपस्थिति रहने अनुमान गरिएको छ।
टिप्पणी लेख्नुहोस्