आरटी गोल्डकप: मकालु एफसीद्वारा बिजेवाई निलाईमाथि ११ गोलको वर्षा, कृपा चौधरीको एक्लै ९ गोल
क्वालालम्पुर। मलेसियामा जारी 'दोस्रो आरटी गोल्डकप २०२६' अन्तर्गत आज (सोमबार) सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा मकालु एफसीले फराकिलो जित दर्ता गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। शाह आलमस्थित पानासोनिक स्टेडियममा भएको अत्यन्तै एकपक्षीय खेलमा मकालु एफसीले बिजेवाई एफसी निलाईलाई ११–१ को भारी गोल अन्तरले पराजित गरेको हो।
मकालु एफसीको यो ऐतिहासिक जितमा नेपाल सुपर लिगमा वीरगन्ज युनाइटेडबाट खेलिसकेका स्टार फरवार्ड कृपा चौधरी नायक बने। उनले खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै एक्लै ९ गोल गरे।
पहिलो हाफमै मकालुको ७ गोलको आक्रामक अग्रता
खेलको सुरुवातमै आक्रामक रणनीति अपनाएको मकालुले पहिलो हाफमै ९ गोल गर्न सफल भएको थियो।
-
खेलको ८ औँ मिनेटमा अभिषेक चौधरीले गोल गर्दै मकालुको खाता खोलेका थिए।
-
११ औँ मिनेटमा कृपा चौधरीले व्यक्तिगत पहिलो गोल गर्दै टोलीको अग्रता २–० बनाए।
-
लगतै १२ औँ मिनेटमा कृपाले अर्को गोल थपे।
-
१५ औँ मिनेटमा कृपाले आफ्नो आकर्षक ह्याट्रिक पूरा गरेपछि मकालु ४–० ले अघि बढ्यो।
-
१८ औँ मिनेटमा कृपाले व्यक्तिगत चौथो गोल गर्दै खेल ५–० को स्थितिमा पुर्याए।
-
२४ औँ मिनेटमा प्रेम जिमीले गोल गर्दै मकालुलाई ६–० को अग्रता दिलाए।
-
२८ औँ मिनेटमा कृपा चौधरीले व्यक्तिगत पाँचौँ गोल गरेपछि पहिलो हाफ ७–० मा सकियो।
दोस्रो हाफमा पनि गोलको सिलसिला जारी
दोस्रो हाफको पहिलो मिनेटमै कृपा चौधरीले गोल गर्दै व्यक्तिगत छैटौँ गोल पूरा गरे र खेल ८–० को अवस्थामा पुग्यो। त्यसपछि दोस्रो हाफको १५ औँ मिनेटमा मकालुले अर्को गोल थप्दै ९–० को अग्रता लियो।
खेलको २० औँ मिनेटमा बिजेवाई एफसी निलाईले १ सान्त्वना गोल फर्काउन सफल भयो। तर, खेलको ५६ औँ मिनेटमा मकालुले १० औँ गोल थप्यो, जहाँ कृपाले आफ्नो व्यक्तिगत सातौँ गोल पूरा गरे। लगत्तै ५८ औँ मिनेटमा कृपाकै प्रहार मार्फत मकालुले ११ औँ गोल गरेपछि खेल ११–१ को विशाल अन्तरमा टुङ्गियो।
आकर्षक पुरस्कार राशि र व्यक्तिगत विधा
मे ३१ (जेठ १७) देखि जुन १ सम्म मलेसियामा आयोजना भइरहेको यस प्रतियोगिताको पुरस्कार राशि निकै आकर्षक रहेको छ:
-
विजेता टोली: आकर्षक ट्रफीसहित २२,००० मलेसियन रिंगेट (नेपाली रुपैयाँ करिब ६ लाखभन्दा बढी)।
-
उपविजेता टोली: ११,००० मलेसियन रिंगेट (करिब ३ लाख नेपाली रुपैयाँ)।
आयोजक आरटीएफसीका अनुसार टोलीगत उपाधिका अलावा खेलाडीहरूको उत्कृष्ट प्रदर्शनलाई कदर गर्न विभिन्न व्यक्तिगत विधाहरूमा पनि पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई जनही ३०० मलेसियन रिंगेट र ट्रफीद्वारा पुरस्कृत गरिनेछ।
मलेसियामा रहेका प्रवासी नेपाली फुटबल प्रेमीहरूको बाक्लो र उत्साहजनक उपस्थितिका बीच यो प्रतियोगिता निकै आकर्षणको केन्द्र बनेको छ।
टिप्पणी लेख्नुहोस्