पाँचौँ उपत्यकाव्यापी खुला जुनियर उसु: ईष्टपोल बन्यो टिम च्याम्पियन, अलकेमिस्ट दोस्रो र मनमैजु तेस्रो
थाओलुमा पेमा र युमी तथा सान्दामा सागर र दिया उत्कृष्ट खेलाडी घोषित
काठमाडौं, जेठ १८
जोरपाटी उसु क्वानको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित ‘पाँचौँ उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिता–२०८३’ सम्पन्न भएको छ। गोकर्णेश्वर स्पोर्ट्स सिटी हलमा जेठ १५ गतेदेखि १७ गतेसम्म तीन दिन चलेको उक्त प्रतियोगितामा ईस्टपोल उसु क्वान टिम च्याम्पियन बन्न सफल भएको छ।
ईस्टपोलले कुल १२ स्वर्ण, ६ रजत र ६ कांस्य पदक जित्दै शीर्ष स्थान कब्जा गरेको हो। टोलीको यो सानदार सफलतापछि प्रतिक्रिया दिँदै ईस्टपोलका प्रमुख प्रशिक्षक विजय सिन्जालीले खेलाडीहरूको निरन्तर मेहनत, लगनशीलता र अनुशासनका कारण नै यो उत्कृष्ट नतिजा सम्भव भएको बताए।
पदक तालिकामा कसको स्थान कहाँ?
प्रतियोगितामा तीव्र प्रतिस्पर्धाका बीच अलकेमिस्ट र मनमैजु उसु क्वानले क्रमश: दोस्रो र तेस्रो स्थान हासिल गरे:
| स्थान | उसु क्वान (टिम) | स्वर्ण | रजत | कांस्य |
| प्रथम | ईस्टपोल उसु क्वान | १२ | ६ | ६ |
| दोस्रो | अलकेमिस्ट उसु क्वान | ६ | १ | ५ |
| तेस्रो | मनमैजु उसु क्वान | ५ | ९ | ८ |
दोस्रो स्थान हासिल गरेपछि अलकेमिस्टका प्रशिक्षक पासाङ शेर्पाले यस सफलताले युवा खेलाडीहरूको मनोबल अझ उच्च बनाएको र आगामी दिनमा थप राम्रो गर्न प्रेरणा मिलेको उल्लेख गरे।
विधागत उत्कृष्ट खेलाडीहरू
प्रतियोगिताको थाओलु र सान्दा विधा तर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू यसप्रकार छन्:
-
थाओलु (पुरुष): पेमा ग्याल्बो लामा (अलकेमिस्ट उसु क्वान)
-
थाओलु (महिला): युमी अवाल (जोरपाटी उसु क्वान)
-
सान्दा (पुरुष): सागर गुरुङ (दक्षिणकाली उसु क्वान)
-
सान्दा (महिला): दिया सलामी (प्रज्ञा स्कुल)
नयाँ खेलाडी उत्पादनमा जोड
प्रतियोगिताको पाँचौँ संस्करणसम्म आइपुग्दा ठूलो संख्यामा प्रतिभाशाली तथा उत्कृष्ट जुनियर खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको जोरपाटी उसु क्वानका अध्यक्ष एवं कार्यक्रम संयोजक नारायण श्रेष्ठले जानकारी दिए।
"यस्ता तल्लो तहका (जुनियर) प्रतियोगिताहरूले देशका लागि नयाँ र दक्ष खेलाडी उत्पादन गर्न तथा नेपाली उसु खेलको समग्र विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउनेछ," अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गरे।
टिप्पणी लेख्नुहोस्