पेलेको ऐतिहासिक १० नम्बरको जर्सी लिलामी हुने, सन् १९५८ को विश्वकप फाइनलमा लगाएका थिए
काठमाडौँ । फुटबल जगतका सर्वकालीन महान खेलाडी पेलेले सन् १९५८ को विश्वकप फाइनलमा लगाएको ऐतिहासिक १० नम्बरको जर्सी लिलामी हुने भएको छ। अन्तर्राष्ट्रिय प्रतिष्ठित लिलामी घर 'सदेबिज'ले यसै समरमा अनलाइनमार्फत यो जर्सी लिलामी गर्न लागेको हो।
सदेबिजका अनुसार उक्त ऐतिहासिक जर्सीको अनलाइन लिलामी आगामी जुन २९ देखि सुरु भई जुलाई १६ सम्म चल्नेछ।
सन् १९५८ मा स्विडेनको स्टकहोमस्थित रासुन्डा स्टेडियममा भएको फाइनल खेलमा ब्राजिलले आयोजक स्विडेनलाई ५–२ गोल अन्तरले पराजित गर्दै पहिलो पटक विश्वकपको उपाधि जितेको थियो। त्यतिबेला मात्र १७ वर्षका रहेका पेलेले फाइनल खेलमा दुई ऐतिहासिक गोल गरेका थिए। उनी विश्वकप फाइनलमा गोल गर्ने अहिलेसम्मकै सबैभन्दा कान्छा खेलाडी हुन्।
सदेबिजका आधुनिक संकलन विभागका प्रमुख ब्राह्म वाचटरले भन्नुभयो, "यो जर्सी इतिहासकै महान फुटबलरले आफ्नो सुखद साम्राज्य (विश्वकप यात्रा) सुरु भएको रात लगाएको ऐतिहासिक पहिरन हो।"
जर्सीको रोचक इतिहास
सन् २०२२ को डिसेम्बरमा ८२ वर्षको उमेरमा क्यान्सरका कारण निधन भएका पेलेले उक्त हातले बुनेको जर्सी फाइनल खेल सकिएपछि आफ्ना रुममेट तथा टोलीका सदस्य डिडालाई उपहारस्वरूप दिएका थिए।
यो जर्सी दशकौंसम्म डिडाको परिवारसँगै सुरक्षित थियो। पछि यसलाई ब्राजिलको एक संग्रहालयमा राखिएको थियो र सन् २००४ मा हालका मालिक (जसले आफ्नो नाम गोप्य राखेका छन्) ले यसलाई खरिद गरेका थिए।
फुटबल प्रेमीहरू माझ पेलेले उक्त फाइनल खेलमा गरेको पहिलो गोललाई विश्वकप इतिहासकै सर्वोत्कृष्ट गोलहरूमध्ये एक मानिन्छ। उनले बललाई छातीले नियन्त्रणमा लिँदै स्विडेनका डिफेन्डरको माथिबाट 'फ्लिक' गरेर उत्कृष्ट गोल गरेका थिए। यस्तै, दोस्रो गोल भने उनले खेलको अन्तिम समयतिर हेडमार्फत गरेका थिए।
आगामी विश्वकपको पूर्वसन्ध्यामा हुन लागेको यो लिलामी अवधिमा न्युयोर्कस्थित सदेबिजको ब्रेउर बिल्डिङमा जुलाई १ देखि सर्वसाधारणका लागि यो जर्सी प्रदर्शनीमा समेत राखिने जनाइएको छ।
टिप्पणी लेख्नुहोस्