बागमती कप २०२६: ललितपुरको रोमाञ्चक जित, चितवन २ रनले पराजित
विवेक राना मगरको आक्रामक ६३ रन, पंकज र सूर्यको घातक बलिङ; चितवनका प्रतीक श्रेष्ठ 'प्लेयर अफ द म्याच'
हेटौडा, मकवानपुरको हेटौँडास्थित गौरीटार क्रिकेट मैदानमा जारी बागमती कप २०२६ अन्तर्गत सोमबार सम्पन्न निकै नै रोमाञ्चक र श्वास रोकिने खालको लिग खेलमा ललितपुरले चितवनमाथि २ रनको रोमाञ्चक जित दर्ता गरेको छ। अन्तिम बलसम्म पुगेको रोमान्चक भिडन्तमा १७४ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन मात्र बनाउन सक्यो।
टस र ललितपुरको ब्याटिङ: विवेकको सानदार अर्धशतक
खेलमा चितवनका कप्तान गौतम केसीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका थिए। पहिले ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७३ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो।
ललितपुरका लागि मध्यक्रमका ब्याटर विवेक राना मगरले उत्कृष्ट इनिङ्स खेले। उनले मात्र ३९ बलमा ५ चौका र ५ छक्काको मद्दतले सर्वाधिक ६३ रनको योगदान दिए। त्यस्तै, सचिन लेखकले ३० बलमा ४६ रन (४ चौका, १ छक्का) को आक्रामक इनिङ्स खेले भने ओपनर आशुतोष घिरैयाले २१ रन बनाए। बिपिन आचार्य १० रनमा अविजित रहे।
चितवनका बलरहरूमध्ये प्रतीक श्रेष्ठले ४ ओभरमा ३६ रन खर्चेर सर्वाधिक २ विकेट लिए। त्यस्तै गौतम केसी र क्रिजन गुरुङले समान १-१ विकेट हात पारे।
चितवनको जवाफी ब्याटिङ: दीपेश र प्रतीकको संघर्षका बाबजुद टिम अमुल्य २ रनले चुक्यो
१७४ रनको बलियो लक्ष्य पछ्याएको चितवनको सुरुवात निकै खराब रह्यो। ओपनर ड्यानियल गुरुङ शून्य, पवन बहादुर थापा शून्य र सूर्यन्शु कोइराला ६ रनमै पभेलियन फर्किएपछि चितवन दबाबमा आएको थियो।
तर, चौथो नम्बरमा ब्याटिङ गर्न आएका प्रतीक श्रेष्ठले ४० रन (३४ बल, ६ चौका) र कप्तान गौतम केसीले २९ रन बनाउँदै इनिङ्स सम्हाले। अन्तिम समयमा दीपेश श्रेष्ठले २७ बलमा ४२ रन (३ छक्का) को उत्कृष्ट अविजित इनिङ्स खेल्दै टोलीलाई जितको नजिक पुर्याएका थिए। पुछारका ब्याटर संजोग क्षेत्रीले पनि १६ बलमा आक्रामक २७ रन (३ चौका, १ छक्का) जोडे पनि टोलीलाई जित दिलाउन २ रन छोटो भयो।
ललितपुरलाई जित दिलाउन बलिङतर्फ पंकज पाण्डेले ४ ओभरमा ३४ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिए। त्यस्तै, स्पिनर सूर्य तामाङले ४ ओभरमा कसिलो बलिङ गर्दै २२ रन मात्र खर्चेर ३ विकेट चट्काए। बिपिन आचार्य र भार्गभ खनालको भागमा १-१ विकेट रह्यो।
संक्षिप्त स्कोर तालिका:
| टिम | स्कोर | ओभर | मुख्य ब्याटर | मुख्य बलर |
| ललितपुर | १७३/५ | २०.० |
विवेक राना मगर (६३) सचिन लेखक (४६) |
पंकज पाण्डे (३/३४) सूर्य तामाङ (३/२२) |
| चितवन | १७१/८ | २०.० |
दीपेश श्रेष्ठ (४२*) प्रतीक श्रेष्ठ (४०) |
प्रतीक श्रेष्ठ (२/३६) |
टिप्पणी लेख्नुहोस्