लेख विवरण

बागमती कप २०२६: नुवाकोटमाथि मकवानपुरको ३६ रनको सहज जित

बागमती कप २०२६: नुवाकोटमाथि मकवानपुरको ३६ रनको सहज जित

सुमन सुनारको उत्कृष्ट अर्धशतक र साकार तथा स्वरूपको धारिलो बलिङ; विधान खतिवडाको ४ विकेट खेर

हेटौँडा, हेटौँडास्थित गौरीटार क्रिकेट मैदानमा जारी बागमती कप २०२६ अन्तर्गत सोमबार सम्पन्न लिग खेलमा घरेलु टोली मकवानपुरले नुवाकोटमाथि ३६ रनको सहज जित दर्ता गरेको छ। मकवानपुरले दिएको १५१ रनको लक्ष्य पछ्याएको नुवाकोट निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११४ रनमा समेटिएपछि मकवानपुरले महत्वपूर्ण अंक जोडेको हो।

सुमन र गौरवको इनिङ्सले सम्हालियो मकवानपुर

यसअघि नुवाकोटले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङको निम्तो पाएको मकवानपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५० रनको सम्मानजनक योगफल खडा गरेको थियो।

सुरुवाती ४ विकेट मात्र ३० रनमा गुमाएर संकटमा परेको मकवानपुरको इनिङ्सलाई सुमन सुनार र गौरव खड्काले उकासेका थिए। 'प्लेयर अफ द म्याच' घोषित सुमन सुनारले ३५ बलमा १ चौकाको मद्दतले सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ्स खेले। त्यस्तै गौरव खड्काले ४० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४६ रनमा अविजित रहे। अन्तिम समयमा सक्षम बास्ताकोटीले १३ बलमा आक्रामक २३ रन जोडे।

बलिङतर्फ नुवाकोटका विधान खतिवडाले उत्कृष्ट प्रदर्शन गरे। उनले ४ ओभरमा २८ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्। इशान पालिले १ विकेट हात पारे।

नुवाकोटको ब्याटिङ ध्वस्त पार्न साकर र स्वरूपको घातक बलिङ

१५१ रनको लक्ष्यका साथ मैदान उत्रिएको नुवाकोटले सुरुदेखि नै नियमित अन्तरालमा विकेट गुमाउँदा कहिल्यै खेलमा पकड बनाउन सकेन। नुवाकोटका लागि अनुभव खनालले ३४ बलमा ३ चौकासहित सर्वाधिक ३२ रन बनाए। त्यस्तै अशोक पौडेलले २०, गणेश गौतमले अविजित १६ र रोशन बिकले १५ रन जोडे पनि अन्य ब्याटर चल्न सकेनन्।

नुवाकोटलाई सस्तैमा रोक्न मकवानपुरका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। साकार गजुरेलले ४ ओभरमा मात्र १४ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए। त्यस्तै स्वरूप श्रेष्ठले ४ ओभरमा २५ रन खर्चिँदै ३ विकेट चट्काए। रोहित ठाकुरको नाममा १ विकेट रह्यो।

संक्षिप्त स्कोर तालिका:

  • टिम स्कोर ओभर मुख्य ब्याटर मुख्य बलर
    मकवानपुर १५०/५ २०.०

    सुमन सुनार (५२)


    गौरव खड्का (४६*)

    साकर गजुरेल (३/१४)


    स्वरूप श्रेष्ठ (३/२५)

    नुवाकोट ११४/८ २०.०

    अनुभव खनाल (३२)


    अशोक पौडेल (२०)

    विधान खतिवडा (४/२८)


    इशान पालि (१/२७)

    नतिजा: मकवानपुर ३६ रनले विजयी।

  • प्लेयर अफ द म्याच: सुमन सुनार (मकवानपुर)

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.