मलेसियामा नेपाली संघ–संस्थाहरू रमिते बन्दा जागे नारायण अधिकारी: महिला क्रिकेट टोलीको सम्मानमा अनुकरणीय अग्रसरता
क्वालालम्पुर, मलेसिया — देशको प्रतिष्ठा र पहिचान अन्तर्राष्ट्रिय जगतमा फैलाउन अहोरात्र खटिएका नेपाली चेलीहरूलाई पराई भूमिमा माया र हौसलाको ठूलो आड मिलेको छ। मलेसियामा आयोजना भएको ‘एशियन गेम्स महिला छनोट प्रतियोगिता २०२६’ तथा हाल सञ्चालन भइरहेको ‘एसीसी महिला प्रिमियर कप २०२६’ मा सहभागी हुन आएका नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई क्वालालम्पुर कास्टमान्डप रेस्टुरेन्टमा एक विशेष कार्यक्रमका बीच सम्मान तथा हौसला प्रदान गरिएको छ।
मलेसियामा रहेका थुप्रै नेपाली संघ–संस्थाहरू यति ठूलो ऐतिहासिक अवसरमा पनि मौन र निष्क्रिय देखिइरहेका बेला, प्रवासी नेपाली समुदायका प्रतिष्ठित व्यक्तित्व नारायण अधिकारीले एकल अग्रसरता लिँदै राष्ट्रिय टोलीको सम्मानमा यो सुखद भेटघाटको माहौल जुराउनुभएको हो।
भेटघाटका क्रममा नेपाली टोलीका मुख्य प्रशिक्षक हर्षल पाठक, कप्तान इन्दु बर्मा, उपकप्तान पूजा महतो लगायत सम्पूर्ण खेलाडीहरूसँग आत्मीय छलफल तथा शुभकामना आदानप्रदान गरिएको थियो।
अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै मैदानमा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडीहरूलाई हौसला प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त भेटघाट कार्यक्रममा मलेसियास्थित नेपाली समुदायका प्रबुद्ध व्यक्तिहरूको समेत उत्साहजनक सहभागिता रहेको थियो।
मलेसियामा नेपाली समुदायका नाममा खोलिएका दर्जनौँ संघ–संस्थाहरूको सक्रियता अपेक्षित रूपमा शून्य प्रायः देखिएको अवस्थामा पनि अधिकारीले देखाएको यो देशभक्तिपूर्ण तदारुकताको चौतर्फी प्रशंसा भएको छ। नेपाली समुदायको प्रतिनिधित्व गर्दै खेलाडीहरूलाई निरन्तर हौसला, सम्मान तथा सहयोग प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका नारायण अधिकारीप्रति सहभागीहरूले विशेष आभार व्यक्त गरेका छन्।
"हाम्रा खेलाडीहरू देशको झण्डा छातीमा सँजाएर पराई भूमिमा लडिरहँदा हामीले यहाँ अभिभावकत्व दिनु हाम्रो कर्तव्य हो। संघ-संस्थाहरू जुर्मुराउन् वा नजुर्मुराउन्, राष्ट्रका गहनाहरूको मनोबल उच्च राख्न हामी सधैं तयार रहनुपर्छ।"
उहाँले खेलाडीहरूको मनोबल उच्च राख्न तथा नेपाली समुदायलाई राष्ट्रिय टोलीसँग भावनात्मक रूपमा जोड्न उल्लेखनीय योगदान पुर्याउनुभएको बताइएको छ।
यसैगरी कार्यक्रमलाई पर्दापछाडि रहेर सफल बनाउन प्राविधिक तथा व्यवस्थापकीय सहकार्य गर्नुभएका नेपाली टोलीका व्यवस्थापक प्रकाश पौडेलप्रति पनि आयोजक र सहभागीहरूले हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेका छन्।
भेटघाटका क्रममा सहभागीहरूले देशको झण्डा बोकेर अन्तर्राष्ट्रिय मैदानमा चौका–छक्का बर्साउँदै प्रतिस्पर्धा गरिरहेका यी प्रतिभाशाली खेलाडीहरू राष्ट्रको असली गौरव भएको उल्लेख गरे। उनीहरूको मेहनत, कठोर संघर्ष र देशप्रतिको समर्पणको उच्च सम्मान गर्दै प्रतियोगिताको बाँकी यात्रामा नेपाली टोलीले अझ उत्कृष्ट प्रदर्शन गरोस् र कप देशमा भित्र्याउन सफल होस् भन्ने गहिरो शुभकामना व्यक्त गरिएको थियो।
नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामार्फत नेपालको खेलकुद क्षेत्रको पहिचानलाई थप उचाइमा पुर्याउनेमा सम्पूर्ण प्रवासी नेपालीहरू पूर्ण रूपमा विश्वस्त रहेका छन्।
टिप्पणी लेख्नुहोस्