फेन्सिङ खेलाडी अनिता कार्कीद्वारा सगरमाथाको सफल आरोहण, नेपाल ओलम्पियन संघद्वारा बधाई
काठमाडौँ । फेन्सिङकी राष्ट्रिय खेलाडी तथा दक्षिण एसियाली खेलकुद (साग) की पदक विजेता अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँले गत २०८३ वैशाख ३ गते सगरमाथाको शिखरमा पाइला टेक्न सफल हुनुभएको हो ।
खेलाडी कार्कीको यो ऐतिहासिक सफलताप्रति नेपाल ओलम्पियन संघ (एनओए) ले एक प्रेस विज्ञप्ति जारी गर्दै हार्दिक बधाई तथा सुखद भविष्यको शुभकामना व्यक्त गरेको छ ।
संघका अध्यक्ष एवं कीर्तिमानी ओलम्पियन दीपक बिस्ट (ओएलवाई) द्वारा जारी विज्ञप्तिमा भनिएको छ:
"खेलकुद क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउँदै साहस, आत्मविश्वास र दृढ संकल्पको प्रेरणादायी उदाहरण प्रस्तुत गरेकोमा संघ उहाँ प्रति गर्व गर्दछ । उहाँको यो ऐतिहासिक उपलब्धिले सम्पूर्ण नेपाली खेलाडी तथा ओलम्पियन समुदायलाई प्रेरित गरेको छ ।"
सगरमाथाको शिखरमा ओलम्पियन संघको झण्डा
आरोहणका क्रममा कार्कीले नेपाल ओलम्पियन संघको झण्डा समेत सगरमाथाको शिखरमा फहराउनुभएको थियो । नेपाली ओलम्पियनहरूको गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा थप उचाइ प्रदान गरेको भन्दै विश्व ओलम्पियन संघ (डब्लुओए) ले समेत उहाँलाई विशेष धन्यवाद व्यक्त गरेको छ ।
नेपाल ओलम्पियन संघले साहसी आरोही एवं खेलाडी कार्कीलाई आगामी दिनमा अझ उच्च सफलता र नयाँ उपलब्धिहरू हासिल गर्नका लागि हार्दिक शुभकामना समेत प्रकट गरेको छ ।
टिप्पणी लेख्नुहोस्